काठमाडौं, बिहिबार, १२ चैत्र २०७७ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ । पछिल्ला गतिविधि र अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले बताएको छ ।
गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ । त्यसपछि ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बहिस्कार गर्दै सो पक्षले समानान्तर कमिटी गठन गरेर ललितपुरमा २ दिने राष्ट्रिय कार्यकर्ता भेला पनि गरेकाे थियाे ।
हाल ओली समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोधेको छ । स्पष्टिकरण तयार भइरहेको पनि बताइएकाे छ ।








































