काठमाडौं, शनिबार, ७ चैत्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउनका लागि दुइटा विकल्प रोज्ने बताएका छन् ।
नेपाल मगर संघ कर्णाली प्रदेशको कार्यक्रममा प्रशिक्षकका रूपमा सुर्खेत आएका नेता थापाले भने, ‘संसदले काम गर्न नसक्ने भन्ने पारेपछि ओलीले दुइटा विकल्प रोज्नेछन्,’ ‘पहिलो मधेशवादी दलको साथ पाए आफ्नै नेतृत्वमा सरकार बनाउने, दोस्रो आफूविरूद्ध बोल्ने सबैलाई तर्साएर सरकार अबको दुई वर्ष टिकाउने।’
उनले ओलीले एकपछि अर्को गर्दै संविधानमाथि अन्याय गर्न लागेकोले यसलाई सबै मिलेर रोक्नुपर्ने बताए । उनले ओलीको अहंकारले पार्टीमा विभाजन आएको समेत बताए । अहिलेको यो परिस्थितिमा पनि ओलीले अहंकार देखाउन खोजेको उनको भनाई भनाई छ ।
‘प्रधानमन्त्री ओलीले आफ्नो अहंकारका कारण संसद विघटन गरे, अदालतले न्याय गर्यो,’ थापाले भने, ‘तर प्रधानमन्त्रीले राजीनामा दिएनन्, उनलाई अझै दम्भ छ कि मैले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गर्यो। अब यो संसदलाई काम नलाग्ने गराउँछु भन्ने उनलाई लागेको छ।’
थापाले अब देशको परिस्थिति सम्हाल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउँदै भने, ‘हामीले पाँच वर्ष सरकार चलाउँछौं भनेर नेकपा बहुमतसहित आयो हामी पनि पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भयौं,’ थापाले भने, ‘अब त नेकपा त छँदै छैन, यस्तो बेलामा कांग्रेसले सम्हाल्नुपर्ने छ।’
नेपाली कांग्रेसका महाधिवेशनलाई लक्षित गर्दै नेता थापाले भने, ‘हामीले आफूलाई सच्याउने बेला आएको छ, महाधिवेशन पनि नजिकै आएको छ,’ उनले भने, ‘यस्तो बेलामा हामी सबै सच्चिएर जानुपर्छ, तिक्तता कसैले पनि नबढाऔं।’ आगामी चुनावमा जाँदा नेपाली कांग्रेसले समृद्ध नागरिकसहितको समृद्धिको संकल्प गरेर जनतामाझ जाने उनको भनाई छ ।








































