काठमाडौँ, बिहिबार, ५ चैत्र २०७७ । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन्। बरु वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला बुधबार सुरु भएको छ। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजित रूपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन्। पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेका चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिहरूको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।
भारतीय नाकाबन्दी सामना गरेको प्रधानमन्त्रीका रूपमा ओलीको लोकप्रियता बढेपछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको आरोप नेपालले लगाएका छन्। त्यसले अन्ततः आफू नै सरकार र आफैं पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहेकाले पार्टी एकतादेखि सबै उपलब्धिलाई ध्वस्त बनाउने काम भएको आरोप ओलीविरुद्ध लगाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








































