राजविराज, शनिबार, २९ फागुन २०७७ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले आफ्नो पार्टी जसपालाई सत्ताको नेतृत्व दिन तयार रहको बताउनु भयो ।
प्रेस संगठन नेपालको सप्तरी शाखाद्वारा शनिवार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भयो ।
उहाँले प्रतिपक्षी नेपाली कांग्रेस समर्थन दिन तयार भए आफ्नो पार्टीले जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको बताउनु भएको हो ।
नेता यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । अब माओवादी केन्द्र सरकारवाट समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको छ तर नेकपा एमालेबाट सरकारको नेतृत्व परिवर्तन भए समर्थन जारी रहने उहाँले बताउनु भयो ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा बोल्दै नेता यादवले सत्ता नेतृत्वबारे छलफल भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यदि कांग्रेसले जसपालाई प्रधानमन्त्री दियो भने हामी पनि तयार हुन्छौं ।’
पार्टी एकिकरणका लागि न्यायिक पुनरावलोकणमा सर्वोच्च जाने नजाने विषयमा कानून विदहरुसँग छलफल भईरहेको र कानून विदहरुको राय बमोजिम पार्टी पुनरावलोकणमा जाने नेता यादवले जानकारी समेत दिनु भयो ।
आफ्नो पार्टीसहित कांग्रेस र जसपा मिलेर सरकार बनाउनुपर्ने धारणा उहाँको थियो ।
उहाँले यो सरकार बनेपछि जसपाले राख्दै आएको रेशम चौधरी रिहाइ संविधान संशोधनको कामलाई अगाडि बढाइने बताउनु भयो । ‘सरकार बनेपछि रेशम चौधरीको रिहाइ हुन्छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुन्छ,’ उहाँले भन्नुभयो ।
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारी र ‘महाठग’को संज्ञा दिनुभएको छ । उहाँले ओलीले प्रचण्डलाई दुई पटक ठगेको उल्लेख गर्नुभयो ।








































