काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सम्पन्न भएको छ । आज महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि पार्टीले अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
जनता समाजवादी पार्टी (जसपा)ले सत्तासाझेदारीका विषयमा छलफल थालेपछि त्यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सभापतिले डाकेको बैठकमा जानुअघि पौडेल पक्षले आफ्नो समूहको एक मत बनाउन गृहकार्य गरेको हो ।
पौडेल पक्षले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले त्यही प्रतिनिधिसभा पुनःस्थापित भएपछि पनि राजीनामा गरेर नैतिकता नदेखाएको भन्दै अनैतिक नेतृत्व विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पौडेल पक्षले ओलीको विकल्पका लागि आफ्नो वा अरु कसैको नेतृत्वका लागि पनि लचक हुनुपर्ने धारणा बनाएको छ ।
जनता समाजवादी पार्टीले पहिलोपटक मधेसी समुदायबाट पनि प्रधानमन्त्री बनाउने अवसर आएको हुनसक्ने भन्दै प्रमुख पार्टीसँग सरकारको विकल्पको खोजीका लागि वार्ता थालेको छ । जसपाले आफ्ना नेता महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा स्वीकार गरे आफैँ सरकार बनाउने पनि पहल थालेको छ । यस्तो बेला पौडेल पक्षको भेलाले निकालेकै जस्तो निस्कर्ष कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि गरेमा फरक अवस्था निर्माण हुने अपेक्षा गरिएको छ ।








































