काठमाडौं, शुक्रबार, २८ फागुन २०७७ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा एमालेमा लागेका माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष पद पाउने भएका छन् ।
यसबारे माओवादीतीरबाट गएका नेताहरु र एमालेका शिर्षनेताहरुबीच अनौपचारिक छलफल भैसकेको छ । चाँडै नै पार्टीले औपचारिक रुपमा गृहमन्त्री थापालाई उपाध्यक्षमा नियुक्त गर्ने तयारी रहेको स्रोतले जनतापाटीलाई बतायो ।
एमालेमा पाँच जना अध्यक्ष थिए । जसमा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त छ। सोही पदमा बादललाई लैजानेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरिरहेका छन् । एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष छन्।
संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका नेताहरूलाई उचित स्थान दिने एमालेका उपमहासचिव विष्णु पौडेलले बताए। ‘हिजो नेकपा हुँदा हामीसँग रहनुभएका र अब एमालेमा समाहित हुने सबै कमरेडहरुको व्यवस्थापन हुन्छ ।’ पौडेलले भने ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डलाई छाडेर बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, अध्यक्ष प्रभु साह, दावा तामाङलगायत नेता ओली खेमामा लागेका थिए।
अहिले माओवादीबाट गएका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छन्।








































