काठमाडौं, बिहिबार, २७ फागुन २०७७ । सर्वोच्च अदालतले व्यूँताइदिएको नेकपा एमालेको बैठक बस्दैछ । आन्तरिक छलफलमा रहेको एमालेले यसै साता बैठक बस्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको छ । सो फैसलापछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भने अनौपचारिक भेटघाट पनि भएको छैन ।
तत्कालीन नेकपाको एउटा समूहमा एमालेका वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । सर्वोच्चको आदेशपछि नेपाल एमालेमै रहने निर्णयमा पुगेका छन् ।
एमालेका नेता प्रदीपकुमार ज्ञवालीले यसै साताभित्रमा बैठक बस्ने बताए । उनले भने, ‘औपचारिक बैठक बस्छ, यो साताभित्र नै बैठक बस्ने तयारी छ ।’
संसद बैठकको चटाराले पनि एमाले बैठकमा ढिलाई भएको नेताहरुको भनाइ छ । नेता ज्ञवालीले पनि संसदमा अस्पष्टता रहेकाले बैठक ढिलाई भएको बताए ।
एमाले व्यूँतिए पनि ओली र नेपालबीच बोलचाल छैन । बुधबार मात्र नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला नयाँ बानेश्वरस्थित एक होटलमा गरिएको थियो ।
ओली समूहले भने माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल लगायतका नेताहरुको व्यवस्थापनको आन्तरिक तयारी गरिरहेका छन् ।
अदालतको आदेशपछि व्यूँतिएको नेकपा माओवादी केन्द्रले भने फागुन २९ गते केन्द्रीय समिति बैठक र चैत १ गते राष्ट्रिय भेला बोलाइसकेको छ ।








































