काठमाडौं, बुधबार, २६ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिई प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीसँग छलफल जारी राख्ने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले यसको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । उनीहरुले सत्ता समीकरणलगायतको विषयमा छलफल गर्नेछन् ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग वार्ता गरेका थिए । त्यसबारे बुधबारको बैठक प्रचण्डले ब्रिफिङ गरेका थिए ।
यस्तै, बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदलसमेत बनाएको छ । कार्यदलमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य छन् ।








































