काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डले मंगलबार बूढानीलकण्ठ पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि अध्यक्ष प्रचण्ड बूढानीलकण्ठतर्फ लागेका थिए । अपरान्ह ४ बजे देउवा निवास पुगेका प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र सम्भावित घटनाक्रमबारे छलफल गरेको स्रोतले बताएको छ । उनीहरुबिच करिब आधा घन्टा ‘वान टू वान’ वार्ता पनि भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको थियो । बैठकले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न यही फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र आगामी चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।








































