काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । निर्वाचन आयोगले आजबाट नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पनि थप गृहकार्य अघि बढाएको हो । सर्वोच्चको आदेशले नेकपा (एमाले( र नेकपा (माओवादी केन्द्र) पुनः ब्यूँतिएका छन् । २०७५ जेठ ३ गते एकीकृत भएर केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको एकीकरणलाई खारेज गरिदिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ । आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै मंगलबार पत्राचार गर्ने तयारी गरेको छ ।
पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा दर्ता भइसकेकाे ती नाम खाली हुनुपर्छ । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अर्कैका नाममा दर्ता भएकाले त्याे सम्भव छैन । गोपाल किराँती र सन्ध्या तिवारीको नाममा ती नामकाे पार्टी दर्ता भइसकेको छ । आयोग स्रोतका अनुसार नेकपाका ओली-प्रचण्डकाे पक्षसहित किराँती र तिवारीलाई सर्वोच्चको फैसला कार्यान्वयन गर्नु पर्ने भन्दै उपस्थित हुन पत्र लेख्ने तयारी भएको हाे ।








































