काठमाडौँ, शुक्रबार, १४ फागुन २०७७ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसद्मा भूमिका खेल्ने बताए ।
“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”,उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए ।








































