विराटनगर, शुक्रबार, १६ माघ २०७७ । नेपाली कांग्रेसले मुख्यमन्त्री पद नै दाबी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले कांग्रेसले अविश्वास प्रस्ताव पारित गर्न सघाए त्यस विषयमा छलफल गर्न सकिने बताएको छ ।
संसद् सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमाथिको छलफलमा प्रचण्ड–माधव समूहले बहुमत पु¥याए मुख्यमन्त्री शेरधन राई स्वतः हट्नुहुनेछ । त्यसका लागि आफ्नो समूहको स्पष्ट बहुमत नभएपछि सो समूहले कांग्रेसको साथ लिनैपर्ने बाध्यता छ । कांग्रेसले पनि आफूलाई मुख्यमन्त्रीसहित सरकारको नेतृत्व दिने समूहसँग सहकार्य हुनसक्ने बताउँदै आएको छ ।
प्रचण्ड–माधव समूहबाट मुख्यमन्त्रीमा प्रस्ताव गरेका नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्यले पहिले अविश्वास प्रस्ताव पारित गरेपछि मात्रै आगामी सरकारको स्वरूपबारे कांग्रेससँग छलफल हुने बताउनुभयो । ओली समूहमा रहनुभएका मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभाको आगामी बैठकको कार्यसूची बन्ने र त्यस प्रस्तावको पक्षमा कांग्रेसले साथ दिए कांग्रेसको प्रस्तावमा सकरात्मक हुन सक्ने आचार्यको तर्क छ ।
आचार्यले दुवै पार्टी सडकमा रहेको र एजेण्डा मिलेका कारण अविश्वासको प्रस्तावमा पहिले कांग्रेसले समर्थन गर्ने र त्यसपछि नयाँ सरकारबारे छलफल हुने बताउनुभएको हो । ‘पहिलो स्टेप अविश्वास प्रस्ताव पारित गर्नुप¥यो, त्यसपछि अरू विषयमा वार्ता र समझादारी गरेर जान हामी तयार छौं’ आचार्यले भन्नुभयो, ‘हामीले अहिले के भनेको छौं भने पहिले अविश्वास प्रस्ताव पारित गरौं, त्यसपछि कुराकानी गरेर सबै विषयमा छलफल गर्न तयार हुन्छौं ।’
उहाँले कांग्रेससँग हालसम्म औपचारिक–अनौपचारिक सबै प्रकारले वार्ता भएको जानकारी दिनुभयो । वार्तामा बस्दा कांग्रेसले पनि सबै विषय नराखेको आचार्यले बताउनुभयो । उहाँले सत्ता बाँडफाँडका विषयमा अहिल्यै निष्कर्षमा पुग्न नसकिने जानकारी दिनुभयो ।
यसैबीच, प्रचण्ड–माधव समूहले शुक्रबार विराटनगरमा विरोधसभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । आचार्यले विराटनगरको जनआन्दोलन चोक (महेन्द्र चोक)मा शुक्रबार हुने शक्ति प्रदर्शनमा ६० हजार बढी मानिसको उपस्थिति गराउने बताउनुभयो । सो दिन उपस्थित हुने कार्यकर्ताहरूले आफैंले खर्च गरेर आउने र प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलनमा छताछुल्ल हुने गरी मानिसहरू सडकमा निस्किने दाबी उहाँको छ ।








































