काठमाडौँ, शनिबार, १८ पुस २०७७ । नेकपा प्रचण्ड-माधव पक्षले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।
वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उनले बताए। सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद पुनर्गठनजस्ता काम जारी राखेको उनले बताए ।
‘असंवैधानिक कदमलाई असफल पारी पूर्ण प्रतिगमनलाई निस्तेज नपारेसम्म आन्दोलन जारी राखिने छ,’ उनले भने ।
प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइनेछ ।
आन्दोलनका कार्यक्रमहरु:
१. पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
२. पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
३. पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
४. २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
५. २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६. ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
७. २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
८. २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
९. २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
१०. ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
११. ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
१२. १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।
१३. १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
१४. २२ माघमा वडा तहमा मसाल जुलुस ।
१५. २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।










































