काठमाडौँ, शुक्रबार, २६ मङ्सिर २०७७ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताउनु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा न ३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा बिहिबार आयोजित कार्यक्रममा बोल्ने क्रममा उहाँले वि सं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताउनु भएको हो । “राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उहाँले भन्नुभयो ।
पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको बताउनु भयो ।
काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल काँग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताउदै पूर्व-उद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाउनु भयो ।
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाको राजनीतिमाथि चर्चा गर्नु भएको थियो ।








































