काठमाडौँ, सोमबार, २२ मङ्सिर २०७७ । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ ।
‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । यसअघि उनले सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’ निर्देशन गरेका थिए ।
१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । अन्य निर्णायकमा ‘डान्स इन्डिया डान्स-लिल चाम्स’की विजेता तेरिया मगर, डान्स प्लस सिजन-२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।
यस शोको निर्माताको रूपमा नायिका केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत छन् । शोको होस्टमा नायिका रीमा र सुमन कोइराला छन् । यसअघि सुमन कमेडी च्याम्पियनमा देखिएका थिए ।
रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।








































