काठमाण्डौँ, आइतबार, २१ मङ्सिर २०७७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेका प्रस्ताव छलफलका लागि आइतबार बस्ने स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार बसेको सचिवालय बैठकले प्रस्तावमाथि ठोस निर्णय गर्न नसकेपछि स्थायी कमिटीमा लैजाने निर्णय भएको जानकारी दिए ।
नेकपाको स्थायी कमिटी बैठक आइतबार, २१ मंसीरमा दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।








































