काठमाडौँ, शनिबार, २० मङ्सिर २०७७ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि चार प्रकारका सापटी सुविधाको व्यवस्था गरेको छ ।
सरकारले सामाजिक सुरक्षा लगानी कार्यविधि २०७७ स्वीकृत गरेसँगै योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा सापटी लिनसक्ने भएका हुन् ।
कार्यविधिमा योगदानकर्ताले सापटी कुल लगानीको १५ प्रतिशतसम्म पाइने व्यवस्था गरेको छ भने योगदानकर्ताले विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने उल्लेख छ ।
लगानी कार्यविधिमा गरिएको व्यवस्थाअनुसार घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको पारिश्रमिक बराबर सापटी दिने व्यवस्था छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानकर्ताले घर सापटी सुविधाअन्तर्गत घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न र घर मर्मतका लागिसमेत रकम पाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।
लगानी कार्यविधिले ‘सामाजिक कार्य सापटी’ शीर्षकअन्तर्गत योगदानकर्तालाई पाँच लाख रुपियाँसम्म सापटी दिने व्यवस्था गरेको छ । योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाख रुपियाँसम्म सापटी लिन पाउने व्यवस्था लगानी कार्यविधिमा गरिएको छ । योगदानकर्ता आफैँ वा निजको पति, पत्नी, छोरा, छोरीका लागि सो सापटी लिन सक्छन् भने सापटी सुविधाका लागि कोषमा कम्तीमा तीन वर्ष योगदान गरेको हुनुपर्ने छ ।
कोषले योगदानकर्ताको खातामा जम्मा भएको ३१ प्रतिशत रकममध्ये २८ दशमलव ३३ प्रतिशतभित्रबाटै उपदानका लागि छुट्याएर त्यसकै आधारमा सापटी उपलब्ध गराउने व्यवस्था गर्न लागेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।
सापटी पाउने व्यवस्था कार्यान्वयनका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिसमेत संशोधन गर्नुपर्ने भएकाले उक्त कार्यविधि संशोधनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो । गोरखापत्र








































