लमजुङ, सोमबार, १ मंसिर २०७७ । घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ ।
लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालुआर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिए ।
उनका अनुसार चालु आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएको छन् । एकसय तीस उद्योग नवीकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएको थियो भने २३७ वटा उद्योगको नवीकरण भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७५/२०७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा ४६८ वटा नयाँ उद्योग दर्ता भएको र २७० वटा उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरेको थियो । २७६ वटा नयाँ उद्योग दर्ता र १६४ वटा उद्योग नवीकरण भएको कार्यालयको तथ्याङ्कमा छ ।
आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएको थियो । सो आर्थिक वर्षमा २०९ वटा नयाँ उद्योग दर्ता भएको र १७३ उद्योगको नवीकरण भएको थियो ।








































