काठमाडौं, बिहिबार, २७ कात्तिक २०७७ । दाजुभाइलाई दिदीबहिनीको उपहार ढाका टोपी लगाइदिने गरिन्छ । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ ।
तिहारमा भाइटीकाका दिन दाजुभाइले ढाका टोपी लगाउने चलन छ । अझ दिदीबहिनीले पनि ढाकाटोपी उपहार दिने चलन छ । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भए पनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।
ढाका टोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो ।
तिहारमा पनि दाजुभाइले ढाका टोपी लगाउने गर्छन् । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारमा सजिने गर्छन् ।
तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने चलन पनि छ । त्यसैले तिहार नजिकिँदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै गएको व्यपारीहरु बताउँछन् ।









































