काठमाडौँ, मंगलबार, १७ कात्तिक २०७७ । सत्तारुढ नेकपा भित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । पहिलो तहका भनिएका नेताहरु सामाजिक संन्जालमार्फत एक अर्का विरुद्ध कडा प्रतिकृया व्यक्त गर्ने र विभाजनलाई बल पुर्याउने गरि अभिव्यक्ती दिन थालेपछि दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् ।
स्रोतका अनुसार अहिले प्रधानमन्त्री केपी ओली निकट लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, अर्का अध्यक्ष प्रचण्ड निकट नेताहरु जनार्दन शर्मा, वर्षामान पुन तथा वरिष्ठ नेता माधव कुमार नेपाल निकट घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश भट्राई लगायतका नेताहरु भित्रभित्रै पार्टी विवाद मिलाउन सक्रिए देखिएका छन् । उनीहरुलाई पार्टी महासचिव विष्णु पौडेलले समेत साथ दिइरहेको बताइएको छ ।
‘तपाईहरु केही दिन चुप लाग्नुस्, त्यसपछि जे गर्नु पर्छ गर्नुहोला भनेर चेतावनी दिएका छौं । त्यही अनुसार अध्यक्षहरु केही दिन यता सन्तुलित देखिन खोजेका छन् । यसले गर्दा स्थिति सकारात्मक दिशामा मोडिने देखिएको छ ।’ सहमतीको प्रयास गरिरहेका दोस्रो तहका एक नेताले भने ।
स्रोतका अनुसार ती नेताहरुबीच शनिबार गत सातादेखि नै पटक पटक वार्ता भैरहेको छ । फोनमा, जुममा र प्रत्यक्ष भेटेर समेत वार्ता भैरहेको एक नेताले जनतापाटीलाई जानकारी दिए । उनका अनुसार दोस्रो तहका नेताहरुको खबरदारीकै कारण विवादको केन्द्रमा रहेका ओली र प्रचण्ड तथा नेपाल पनि पछिल्लो समय केही हच्चिएका छन् । सम्पूर्णरुपमा समस्या समाधानको सूत्र पहिल्याएर तयारीका साथ वैठक बसाउने र ठोस निर्णय गराउने दोस्रो तहका नेताहरुको तयारी छ ।
उनका अनुसार दोस्रो तहका नेताहरु विच पहिलो तहका नेताहरुलाई नेता र कार्यकर्ताहरुसंग ‘आत्मालोचना’ गराएर पार्टी एकताको नयां सूत्र खोज्ने तयारी भैरहेको छ । ‘पार्टी भित्रको विवादले जनता र कार्यकर्तामा देखिएको आक्रोश र निराशालाई महसुस गराउने प्रयास भैरहेको छ । त्यसको लागि पहिले तिनै नेताहरुको नजिक रहेका दोस्रो तहका नेताहरुबीच सहमती हुनु जरुरी छ । एक दुई दिन भित्रै त्यो सहमती गराएर प्रमुख नेताहरुलाई त्यसको लागि मनाउने प्रयास गरिने छ ।’ उनको भनाइ छ ।
दोस्रो तहका नेताहरुले उकासेकै कारण प्रमुख भनिएका नेताहरुले पार्टीमा विग्रह ल्याउन खोजेको भन्दै आफूहरुले विभाजनको प्रयासलाई साथ नदिने युवा नेताहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । ‘शतप्रतिशत भविश्यवाणी त कसरी गर्नु ? तर पार्टी भित्रको विवाद समाधान हुन्छ र पार्टी संगठन तथा सरकारहरु प्रभावकारीरुपमा संचालन हुनेगरि सहमती हुनेछ भन्नेमा म ढुक्क छु ।’ ती नेताले भने ।








































