लमजुङ, मंगलबार, ११ कात्तिक २०७७ । लमजुङमा पछिल्लो समय गाईपालनमा भन्दा भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको छ । गाईपालनमा भन्दा भैँसीपालनमा फाइदा हुने भएकाले व्यवसायिक भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
‘बजारमा गाईको दूधको तुलनामा भैँसीको दूधको माग र मूल्य दुवै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि पछिल्लो समय जिल्लामा गाईपालनमा भन्दा भैँसीपालनमा किसानको आकर्षण बढ्दो छ ।’
उहाँका अनुसार अझै गाईको दूधको बजारिकरण व्यवस्थित हुन सकेको छैन । तर भैँसीको दूधको माग र खपत स्थानीयस्तरमै हुन्छ ।
‘उत्पादित गाईको दूधको गुणस्तरमा ध्यान दिन नसक्दा पनि स्थानीय स्तरमा उत्पादित दूधले बजार नपाइरहेको अवस्था छ । गुणस्तरमा ध्यान दिन सके यसले बजार पाउन सक्छ,’ उहाँले थप्नुभयो, ‘तर भैँसीको दूधको बजार सुनिश्चित छ । आम्दानी राम्रो छ ।’
‘प्याकेजिङ’ र ‘ब्राण्डिङ’ नहुँदा जिल्लामा उत्पादित गाईको दूधको बजारिकरण व्यवस्थित हुन सकिरहेको छैन । बाहिरबाट दूध आउने तर स्थानीयस्तरमा उत्पादित दूधले बजार पाउन नसकिरहेको उहाँ बताउनुहुन्छ ।








































