गोरखा, शनिबार, १० असोज २०७७ । गोरखाको गण्डकी गाउँपालिकाको छैटौ गाउँसभाको बैठक आज पनि स्थगित भएको छ ।
गाउँपालिकाको केन्द्र बिबादका कारण पटक पटक स्थागित हुदै आएको गाउँसभाको बैठक गणपुरक संख्या नपुगेपछि पुनः स्थागित भएको गाउँपालिकाकी उपाध्यक्ष रिता ललिता अधिकारीले जानकारी दिनुभयो ।
गाउँसभाको बैठक बस्न नसक्दा गएको असार १० गते भित्र ल्याइसक्नु पर्ने गाउँपालिकाको चालु आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट समेत सार्वजनिक हुन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गाउँसभाका सदस्यहरु बैठकमा उपस्थिती नै नभएपछि आजपनि बैठक स्थागित गर्नुपरेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । ‘शुक्रबार गाउँ कार्यापालिकाको बैठक बसेर बिभिन्न १८ बुदेँ एजेण्डा छलफल भयो, तर बैठकको निर्णय पुस्तिकामा उहाँहरुले हस्ताक्षर गर्नुभएन, उहाँले भन्नुभयो, आज गाउँसभामा बैठकमा भने उपस्थित नै हुनु भएन ।’
यता नेकपा निकट जनप्रतिनिधिहरुले भने केन्द्र बिवाद टुङ्ग्याउने बिषयमा पूर्वसहमतिको पालन नभएसम्म आफुहरु गाउँसभाको बैठकमा सहभागी हुन नसक्ने बताएका छन् । ‘केन्द्र बिवादको टुङगो नलागेकाले आजको गाउँसभाको बैठकबाट चालु आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम मात्र पारित भन्ने थियो, नेकपा निकट वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले भन्नुभयो, तर गाउँपालिकाको अध्यक्षले हिजोको कार्यपालिकाको बैठकमा एक्कासी बिबिध शिर्षकमा केन्द्र बिबादलाई प्रक्रियामा लैजाने प्रस्ताव आएपनि हामीले बैठकमा बहिस्कार गरेका हौ ।’
गाउँपालिका अध्यक्षले बजेट नीति कार्यक्रम मात्र पास गर्ने पक्षमा आफु नरहेको बताएपछि गाउँसभाको बैठक आफुहरु सहभागी नभएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । ‘अध्यक्षलाई बजेट ल्याएर जनताको समस्या समाधान गर्ने भन्दा पनि प्रशासकिय भवन बनाउने कुरामा मात्र ध्यान केन्दित छ, उहाँले भन्नुभयो, केन्द्र बिबाद नै नटुङ्गिएकाले भवन निर्माणका लागि छुट्याइएको बजेटलाई समपुरक शिर्षकमा राखेर तत्कालका लागि बजेट पास गर्ने र केन्द्रको टुङगो लागेपछि मात्र भवन निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
गाउँसभाको बैठकका लागि अनिबार्य बहुमत आवश्यक पर्ने कानुनी बाध्यता रहेकाले बहुमत नपुगेपछि बैठक स्थगित गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिबाद जारी रहेका बेला चालु आर्थिक बर्षका बजेटमा भवन निर्माणका लागि रकम बिनियोजन भएपछि नेकपा निकट जनप्रतिनिधिहरुले असन्तुष्टी जनाउदै आएका छन । गाउँसभामा बुहमत नपुगेपछि असार १६ गतेका लागि बोलाइएको गाउँसभाको बैठक पटक पटक स्थगित हुदै आएको छ ।
गाउँपालिकामा नेकपा निकट जनप्रतिनिधिको बहुमत रहेको छ । गण्डकी गाउँपालिकाको गाउँसभमा नेकपाका २५ र नेपाली काग्रेसका १९ सदस्य जनप्रतिनिधि रहेका छन् ।








































