काठमाडौं, मंगलबार, ६ असोज २०७७ । सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको छ । साथै, सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि असोज १ गते सूचना सार्वजनिक गर्दै असोज २४ गते निर्वाचन हुने भएकाले कर्मचारीको सरुवा तथा काजमा काम नगर्ने भनि सूचना प्रकाशित गरेको थियो ।
त्यसैगरी, आजको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गरेको छ । पछिल्लो समयमा सिन्धुपाल्चोक र बाग्लुङमा बाढी पहिरोमा परी ठूलो जनधनका क्षति भएको थियो ।








































