काठमाडौं, सोमबार, ५ असोज २०७७ । संघीय संसदको विकास तथा प्रविधि समितिले कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबारको बैठकमा आवश्यक छलफलपछि सरकारलाई डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका विदेशी टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको समितिले जनाएको छ । नेपालमा अधिकांश भारतीय च्यानलहरु विज्ञापनसहित प्रशारणमा छन् ।
नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि हुँदैछ । समितिले उक्त मिति भन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड लागू गर्न निर्देशन दिएको सञ्चार मन्त्रालयका एक अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।
क्लिनफिड लागू गर्ने विषयमा नेपालमा यसअघि पटक पटक चर्चा र तयारी भए पनि कार्यान्वयन हुन सकेको छैन । समितिको निर्देशन अनुसार क्लिन फिड लागू गर्ने तयारी गरिएको मन्त्रालयका ती अधिकारीले बताए ।








































