तिम्रो जस्तै सपना
मेरो छ, डियर
आलिसान बंगलामा बस्ने
वरिपरी कम्पाउन्ड वाला ।
कारमा गुड्ने
कालो सिसावाला
खैर, म कुनै औषधी व्यापारी परिन
कुनै ठेकेदार पनि परिन ।
नदी खोलाहरु दोहन गर्ने
म जग्गा दलाली पनि परिन
मेरो क्रसर उद्योग पनि छैन
कुनै दलको नेता वा मन्त्री पनि भइन ।
सरकारले गाडी मोटर किनिदिने
अहिलेकाजस्ता जनप्रतिनिधि पनि परिन ।
म बबुरो पत्रकार !
संधै अक्षर संगको संगत
खवरसंग साक्षात्कार
त्यसैले, कहाँ पाउनु कार
अनि कहाँ हुन्छ, डियर
मेरो बंगला ।
तिम्ले कल्पना गरे जस्तो
सुनका सुर्कीले पनि बाँध्न सकिन
तिम्लाई जनावर बनाएर
मिनि स्कटमा सजाएर
तिम्लाई रोधी डिस्को र पार्टी प्यालेसहरु लैजान सकिन ।
नारायण खडका
२०७७ साल भाद्र २६ गते शनिबार









































