बारा, शनिबार, २० भाद्र २०७७ । मुलुकमा लकडाउन भएको बेला बारा जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । कोरोना संक्रमणसँगै लकडाउनको अवधिमा विभिन्न कारणले आत्महत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।
चैत ११ देखी आजसम्म ५४ जनाले आत्महत्या गरेकोे प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए । आत्महत्या गर्नेमा सवै उमेर समुहका बालबालिका देखि वृद्धासम्म रहेका तथ्याङ्कले बताउँछ । विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको बिवरणमा उल्लेख रहेको उनले बताए ।
झुन्डिएर आत्महत्या गर्नेमा १० बालक, १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्महत्या गरेका प्रहरी उपरिक्षक पंगेनीले जानकारी गराए ।
प्रहरी उपरिक्षक गौतम मिश्रले विभिन्न कारणले आत्महत्या गरेको बताए । विश्वभर बढी आत्महत्या हुने मुलुकहरू मध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुष भन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् ।
आत्म हत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनी औसत आठ हजार ६ सय ४० जनाले आत्महत्या गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।









































