काठमाडौँ, शुक्रबार, १९ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा नेपालका थप १४ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २७१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ४ जना महिलाहरु काठमाडौँका ८२, ६७, र २२ वर्षीय र चितवनकी ३५ वर्षीय तथा १० जना पुरुषहरु सप्तरीका दुई ५५ वर्षीय, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय गरि जम्मा १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
नेपालमा कोराना सङ्क्रमणबाट आईतबार १४, सोमबार ७, मंगलबार ११, बुधबार १२ तथा विहीबार ६ जनाको मृत्यु भएको थियो ।
नेपालका ६ जिल्लाहरु सोलुखुम्बु, ताप्लेजुङ्ग, डोल्पा, मुस्ताङ्ग, मुगु र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, बारा, चितवन, पर्सा, धनुषा, रुपन्देही, रौतहट, महोत्तरी, सर्लाही, सुनसरी र मोरङ्ग गरि १२ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा २४ हजार २०७ जना निको भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ४४ हजार २३६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
सोहि अवधिमा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा ३८६, भक्तपुरमा ३६, तथा ललितपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनले काठमाडौँ उपत्यकाको कुन-कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने जानकारी दिएनन् ।
आजै एक हजार ३५४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै, हाल नेपालमा १८ हजार ४०४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।









































