धादिङ, शुक्रबार, १९ भाद्र २०७७ । धादिङमा एक युवकले वृद्धको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।
जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी सोही ठाउँका २३ वर्षीय राजु परियारले आत्मसमर्पण गरेका हुन् ।
हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
ती युवक डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
सामान्य विवादको क्रममा ती युवकले आवेगमा आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































