काठमाडौं, शनिबार, २० असार २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समय छलफल गर्नुपर्ने भन्दै समय मागेपछि बैठक सोमबारसम्मको लागि स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए ।
यसअघि बैठक शनिबार बस्ने भनिएको थियो । शुक्रबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि उनीहरु विवाद समाधानका लागि सकारात्मक देखिएका थिए ।
पछिल्लो समय ओलीले एक कार्यक्रममा आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि पार्टीभित्रै उनको चर्को आलोचना भएको थियो । त्यसपछि प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेको छ ।








































