गोरखा, १६ असार २०७७ । गोरखामा तत्काल पिसिआर मेसिन खरिद गर्न असम्भव रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
सोमबार आइसोलेशन निर्माण तथा कोष व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङलाई प्रतिवेदन बुझाउँदै समितिले अहिलेको अबस्थामा मेसिन खरिद गर्न नसकिने बताएको हो । गोरखामा संक्रमितको संख्या बढ्दै गएपछि मेसिन किन्ने चर्चा भएको थियो । पिसिआर परीक्षणको नतिजा आउन ढिलाई हुँदा क्वारेन्टिन र आइसोलेशन व्यवस्थामा समस्या भएको र परीक्षणको दायरा पनि बढाउन पर्नेे भन्दै मेसिन किन्नु पर्नेे निष्कर्षमा सरोकारवालाहरु पुगेका थिए ।
उपयुक्त मेसिन राख्ने ठाउँ, प्राविधिक जनशक्ति र लागत सबै हिसाबले राम्रो खालको पिसिआर मेसिन किन्न सकिने अबस्था देखिएन,’ अध्ययन समितिका संयोजक गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भन्नुभयो, ‘विज्ञहरुले सानो खालको पोेटेबल मेसिन पनि नकिन्नुहोस्, विश्वसनिय छैन भन्नुभयो । नेपालमा पछिल्लो समय किनिएका ५ वटा त्यस्ता मेसिन अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्, करिब ३० लाखमा लागतमा मेसिन किन्न सकिने तर ल्याब सेटअप, अन्य संरचना बनाउन, आवश्यक रसायन खरिद र सञ्चालन गर्न उक्त रकम खर्च हुने समितिको ठहर छ । ‘७/८ वटा कोठा चाहिने, एकै सिफ्टमा ६ जना टेक्निसिन हुनुपर्ने, एक सकेन्ट पनि बत्ति जानु नहुने, अत्यान्त महगो जैविक रसायन चाहिदो रहेछ,’ नगर प्रमुख पन्तले भन्नुभयो त्यसैले, हामी यो निष्कर्षमा पुगेका हौं ।
गोरखाका सबै स्थानीय तहको सामुहिक लगानी र सहयोगीदाता समेत खोजेर मेसिन किन्न तयारी गरिएको थियो । समितिले प्रतिवेदन बुझाएपनि जिल्लाका ११ वटै स्थानीय तह र सरोकारवालाहरुसँग थप छलफल गरी निष्कर्ष निकाल्ने आइसोलेशन निर्माण तथा कोष व्यवस्थापन समितिको तयारी छ ।
देशभर रहेका प्रयोगशालामा संकलन गरी पठाइएका नमूनाहरुको चाङ छ । जसका कारण दुई हप्तासम्म रिर्पोट आउन सकेको छैन ।
गोरखा नगरपालिकाका नगरप्रमुख पन्त, गोरखा अस्पतालका मेडिकल अधिकृतहरु डा. विनोद दुवाडी, कमलराज रोका, स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तमाङ, ल्याब टेक्निसियनहरु मनोज रेग्मी र मनिषा बरालको टोलीले लामो अध्ययन र छलफल गरेपछि प्रतिवेदन सार्वजानिक गर्नु भएको थियो ।








































