Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:४२ बिहान
- ADVERTISEMENT -

विस्थापित हुँदै परम्परागत ‘हलो’

प्रकाशित मिति: २०७७ असार ६, शनिबार

661
Shares

कञ्चनपुर, शनिबार, ६ असार २०७७ । शुक्लाफाँटा नगरपालिका–३ का किसान भरत चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरु जोत्न’ छोडेका छन् । उनले जोत्नका लागि गोरुका ठाउँमा ‘पावर टिलर’ खरिद गरेका छन् । भरतले कम श्रममै एकै पटक धेरै खेत जोतिने भएपछि गोरु बेचेर पावर टिलर खरिद गरेका हुन् ।

“गोरु पाल्नका लागि घरका एक जनाले घाँस काट्ने, खुवाउने र चराउने कार्यका लागि खट्नुपर्दथ्यो”, उनले भने, “पावर टिलर खरिद गरेपछि गोरुको जस्तो स्याहारसुहार गर्नुपरेको छैन । गोरुले एक बिघा खेत जोत्न कम्तीमा तीन दिन लाग्ने गरेको थियो । पावर टिलरको प्रयोग गर्न थालेपछि तीन दिनको कार्य एक घण्टामै पूरा हुन थालेको छ ।”

खेत जोत्नेदेखि तरकारीका लागि बारी तयार गर्ने, रोपाइँका लागि खेत तयार गर्ने, सिँचाइका लागि पानी तान्ने र बारीमा उत्पादन भएका कृषिजन्य वस्तु बिक्री गर्नका लागि बजारसम्म लैजान पावर टिलरको सहयोग लिइने गरिएको छ । कृषियन्त्रको सहयोगले कृषि कार्य छिटो छरितो हुनुका साथै समयको समेत बचत हुने गरेको छ । कृषि उत्पादनमा समेत विगतको तुलनामा दोब्बरले वृद्धि हुन थालेको किसान रनु चौधरीले बताए।

“धान गहुँ लगायत बाली विगतमा जनशक्ति परिचालन गरी चुट्नु पर्ने वा गोरुको सहायताले दाई लगाउनुपर्ने अवस्था हुन्थ्यो”, उनले भने, “खेतबाट आँगनमा ल्याइएको बाली घर भित्र्याउनकै लागि एक महिना पर्खनु पर्दथ्यो । खेतमै पावर टिलर वा ट्र्याक्टरमा रिपर जडान गरी धान गहुँ काट्ने र थ्रेसरको सहायताले एक घण्टामै चुट्ने कार्य हुन थालेको छ ।”

विगतमा कृषि कार्यमा मजदूरको प्रयोग गर्दा निकै खर्च हुने गरेको उल्लेख गर्दै आशिष चौधरीले भने, “अब कम लागतमै कृषिको उत्पादन लिन सकिने भएको छ । यो कार्य कृषियन्त्रको बढ्दो प्रयोगले सम्भव बनाएको छ ।” शुक्लाफाँटा नगरपालिकाको वडा नं ३ मा बसोवास गर्ने अधिकांश किसानले आधुनिक कृषियन्त्र तथा औजारको प्रयोग गर्दै आएका छन् । हातले चलाउने स्प्रेको ठाउँमा इलेक्ट्रिक स्प्रे प्रयोग गर्दै आएका छन् ।

गाउँका युवा विदेशिने क्रमले समेत किसानलाई कृषियन्त्रको प्रयोग गर्न बाध्य पारेको हो । हाल आधुनिक कृषियन्त्र र औजारको प्रयोगले विदेशिने युवासमेत स्वदेशमै खेती गर्नमा रुचि देखाउन थालेका छन् । सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्चमा कटौती गर्नका लागि ५० प्रतिशत अनुदानमा कृषियन्त्रण उपलब्ध गराउन थालेपछि किसानले कृषियन्त्रको प्रयोगलाई बढावा दिन थालेका छन् । कृषिमा बढ्दो व्यवसायीकरणका कारणसमेत आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको छ ।

धेरै जग्गा भएकाले ट्र्याक्टर, कम जग्गा भएका किसानले पावर टिलर र मिनी टिलरको प्रयोग गर्दै आएका छन । सोलार सिँचाइ, कर्न सलेर, हार्भेस्टर, बीउ मल एकै साथ छर्ने आधुनिक मेशिन, ग्रेडिङ मेशिन, स्यालो ट्युबेललगायत प्रयोग गर्नेहरु बढ्दोक्रममा छन् ।

आधुनिक कृषियन्त्र तथा औजार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएका चूडामणि जोशीले वार्षिकरुपमा पावर टिलर, मिनी टिलरलगायत मात्रै ३०० बढीको सङ्ख्यामा बिक्री हुने गरेको बताए । “थ्रेसर मेशिन, रिपरलगायत कृषि औजारको माग बढीरहेको छ”, उनले भने, “किसानले माग गरेबमोजिमका कृषि औजार तथा आधुनिक यन्त्र विगत एक दशकदेखि उपलब्ध गराउँदै आएका छौँ ।” सुदूरपश्चिम प्रदेशमा सञ्चालित मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत सञ्चालन भएका ब्लक, पकेट र जोनलगायत कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा उपलब्ध गराइदै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रत्येक पकेट क्षेत्रलाई रु पाँच लाखका दरले कृषियन्त्र र औजार खरिदका लागि अनुदान रकम उपलब्ध गराइदै आएको छ । एक सय ५५ वटा पटेकलाई सो रकम उपलब्ध गराइएको परियोजना कार्यालयका कर्मचारी रणबहादुर मल्लले बताए । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमका लागि कैलाली र कञ्चनपुरका १५५ स्थानीय तहलाई रु ५० लाखका दरले चालु आवमा कृषिलाई आधुनिकीकरण गर्नका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइएको उनको भनाइ छ ।

अन्न बालीसँगै तरकारी खेतीमा किसानले आधुनिक प्रविधि प्रयोग गर्न थालेपछि उत्पादनसमेत विगतको तुलनामा निकै बढेको छ । भारतबाट आयात हुने विषादीको अत्यधिक प्रयोग गरिएको तरकारीसमेत विस्थापन हुन थालेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट कृषिमा बढ्दो व्यवसायीकरणले किसानको आयआर्जनमा वृद्धि हुनुका साथै युवालाई स्वरोजगार बनाउन मद्दत पुगेको बताउँछन् ।

“कृषिमा बढ्दो आधुनिक यन्त्र र औजारको प्रयोगले कार्य क्षमता बढाएको छ” उनले भने, “कृषिको लागत खर्चमा निकै कटौती भएको छ । व्यावसायिक खेतीका लागि खनजोत गर्न, चुट्ने, काटने र सिँचाइको व्यवस्था गर्न आधुनिक कृषियन्त्रको सहायता लिने गरिन्छ ।” उनका अनुसार जिल्लाका ६० प्रतिशत बढी किसानले आधुनिक यन्त्र र औजारको प्रयोग गर्दै आएका छन् ।

कृषियन्त्रको प्रयोगलाई अझै विस्तार गर्न सकिए उत्पादकत्व वृद्धि हुनुका साथै विदेशिने युवालाई स्वरोजगार बनाउन सकिने भएकाले यसका लागि कार्यक्रम अगाडि बढाउन नितान्त आवश्यक भएको उनको भनाइ रहेको छ । परम्परागत कृषिलाई व्यावसायिक बनाई रोजगारीका अवसर सिर्जना गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा कार्यक्रम अघि सारेको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए ।

“जीवन निर्वाहमुखी कृषि हैन, अब यसलाई व्यावसायिक बनाइनुपर्छ”, उनले भने, “हालै प्रदेशसभाबाट पारित बजेटमा समेत कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।” जग्गा बाँझो राख्न नपाइने गरी बाह्रै महिना खेती गर्नका लागि कार्यक्रम अघि सारिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -