चितवन इच्छाकामना, ३१ जेठ २०७७ । एनआरएनए अभियान्ता तथा नेपाली जनसम्पर्क समिति बेलायतका केन्द्रियसभाका सदस्य विनय अधिकारीको संयोजनमा इच्छाकामना गाउँपालिकाका चेपाङबाहुल्य क्षेत्रमा राहत वितरण गरिएको हो ।
जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सकृयतामा समितिका शुभचिन्तक तथा सहयोगीहरुबाट संकलन गरिएको रकमले राहत वितरण गरिएको इच्छाकामना–४ का स्थानीयबासीसमेत रहेका अधिकारीले बताए । उनले गाउँको स्थलगत भ्रमणगरी समस्या बुझेर राहत वितरण गरिएको बताए । अधिकारीले गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङलाई एकमुष्ट राहत हस्तान्तरणगरी गाउँपालिकाको रोहवर सम्बन्धित ठाउँमै पुगेर राहत वितरण गरिएको बताए ।
गाउँपालिकासँगको समन्वयमा वडा नम्बर २ का मायाटार, भोर्ले, डाँडागाउँ, तेर्से, ल्याम्दार, रमाइलोडाँडा तथा वडा नम्बर ४ का मडकिना, गैरीगाउँ, खैरेनीटारलगायतका क्षेत्रका २ सय भन्दा बढी चेपाङ परिवारहरुलाई राहत वितरण गरिएको हो । गाउँपालिकाकी अध्यक्ष गुरुङले गाउँपालिकाको सबै ठाउँमा एक चरणको राहत पु¥याइएको जानकारी दिँदै आवश्यकताअनुसार थप राहत वितरण गर्दै गएको बताइन् वडा नम्बर २ को रमाइलोडाँडाका युवा सुन्दर चेपाङले राहतले चेपाङ समुदायमा खुसी ल्याएको बताए ।
“हामी मजदुरी गुमाएका युवाहरुलाई परिवार पाल्न निकै समस्या भइरहेको छ”, उनले भने, “गैर सरकारी निकायबाट प्राप्त भएको राहतले गाउँमा खुसी ल्याएको छ ।” वडाध्यक्ष पञ्चबहादुर चेपाङले ९५ प्रतिशत परिवार अतिविपन्न तथा सिमान्तकृत वर्ग रहेको क्षेत्रमा प्राप्त भएको राहतले स्थानीयबासी लाभान्वित भएको बताए ।
उक्त वडाका सचिव रिता अर्याल नेपालले राहत वितरणसँगै स्थानीयबासीमा कोरोना भाइरसबाट सतर्क रहने उपायबारे सचेत गराइएको बताइन् । राहत वितरणका लागि गाउँ पुगेकी गाउँपालिकाकी प्रबक्ता सावित्री गुरुङले तुलनात्मकरुपमा आर्थिक अवस्था कमजोर र कम साक्षर रहेको गाउँ भएकाले गाउँपालिकाले पनि चेपाङबाहुल्य क्षेत्रलाई प्राथमिकतामा पार्दै आएको बताइन्।









































