गोरखा, ६ जेठ २०७७ । किसानले खेती लगाए पनि मल आभाव हुँदा किसान मारमा परेका छन् । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री केन्द्रले समेत मल उपलब्ध गराउन सकेको छैन । अहिले “मानो रोपेर मुरी उत्पादन गर्ने” समयमा मलको अभाबले रोपोमा हाल्न नपाउनाका साथै उत्पादन समेत घट्ने किसानको भनाइ छ ।
पटक पटक मलका लागि सम्बन्धित पालिकामा गुनासो गर्दा गर्दै पनि आजको दिनसम्म गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ४ चौतारा (धावा) मा किसानले धानखेती गर्ने बेला मलको अभाव भएको हो । लामो समय सरकारले लागु गरेको लकडाउनका कारण कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले मल वितरण हुन नसक्दा मल अभाव भएको छ । किसानलाई अहिले मकै, तरकारी र चैते धानबालीको लागि मलको हाहाकार भएको हो ।
विश्वब्यापी माहामारीको रुपमा फैलदै गरेको कोरोना भाइरस र त्यसबाट बच्न सरकारले लामो समय लकडाउनका कारण किसान सम्बन्धित् ठाउमा गएर मल लिएर आउँन गाह्रो भएको छ । पालिकालाई मल वितरण गर्ने जिम्मा प्रदान गरेता पनि लकडाउनका कारण मल उपलब्ध गराउन गाह्रो भएको हो ।
साथै, भिमसेन थापा गाउँपालिकाले मल खरिद प्रक्रियामा सहजीकरण गर्ने बताएको छ । कृषक समुहका आधारमा सिफारिस पत्र हामी दिनेछौ, सोही पत्रका आधारमा सम्बन्धित डिलरसीप प्राप्त सहकारी मार्फत मल खरिद गर्ने व्यवस्था मिलाइएको भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिनुभयो ।
मल खरिदका लागि वडा न ७ र ८ मा रहेको डिलरसीप प्राप्त सहकारीबाट मल खारिद गर्ने व्यवस्था मिलाएको छ । गोरखा जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शाखा कार्यालय नभएका कारण चितवनमा रहेका शाखा कार्यालयले गोरखा जिल्लाका डिलरसीप प्राप्त सहकारीमार्फत मलको विक्रीवितरण गर्दछन् । पालुङ्टार नगरपालिकाका डिलरसीप प्राप्त सहकारीलाई भने दमौलीमा रहेको शाखा कार्यालयले आपूर्ति गर्दै आएको छ ।
गोरखा जिल्लाभरमा झण्डै ५० जति सहकारीहरुले कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट रासयनिक मल ल्याइ विक्री वितरण गर्नका लागि डिलरसिप लिएको अवस्था भएतापनि २३ वटा सहकारीहरुले नियमित आपूर्ति गरी आ-आफ्नो कार्यक्षेत्रमा विक्री वितरण गरिरहेको अवस्था छ ।








































