काठमाडौं, १९ बैशाख २०७७ । सरकारले राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सो निर्णयअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर (भ्याट) माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ।
आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद पनि आगामी जेठ २५ सम्म तोकिएको छ। आयकरअन्तर्गत चैत महिनामा बुझाउनुपर्ने यस आवको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।








































