काठमाडौं, १७ बैशाख २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट हटाउने तयारी भैरहेका समाचार आईरहँदा ओली भने संसदीय दलमा आफ्नो बहुमत देखाउने कसरमा जुटेका छन् । अध्यादेश प्रकरणले ओलीमाथि आफ्नै पार्टीका अन्य नेताहरुको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब सिर्जना गरेपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।
यस बीचमा ओलीले विवाद मिलाउनको लािग प्रयासपनि गरेका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि हालतमा ओलीको प्रस्ताव नमानेपछि विवाद झनै बढेको हो ।
नेता नेपाल समूहले ओलीलाई दुईमध्ये एक पदबाट तत्काल राजीनामा दिन अडानमात्रै राखेको छैन ढिलो गरे दुवै पदबाट हटाईदिनेसम्मको चेतावनी दिएको छ । यता, प्रधानमन्त्री ओलीले भने आफूविरुद्ध ठूलै षड्यन्त्र भएको भन्दै त्यसको डटेर सामना गर्न आफू पक्षधर सांसदहरुलाई निर्देशन दिएका छन् ।
संसदीय दलमा बहुमत पुर्याउनेगरि ओली पक्षीय नेताहरुको दौडधुप सुरु भएको छ । बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । उनीहरु पछिल्लो समय बालुवाटारमै बढि समय व्यतित गरेर गृहकार्य गरिरहेका छन् ।
हिजोमात्रैपनि नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले अढाई घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले कुनैपनि हालतमा तपाईलाई दुवै पदबाट हटाएर छोड्छु भन्ने चेतावनी दिएका थिए । तर, ओलीले हटाएर देखाउन भन्दै हरेक किसिमको चूनौतीको सामना गर्ने उल्टै चेतावनी दिएका थिए । कतिसम्म भने प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका विपक्षी दलसँग मिलेर अविश्वासको प्रस्ताव ल्याएरसमेत प्रधानमन्त्रीबाट हटाउने उद्घोष गरेका थिए ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रस्साकस्सी गरेर खुमलटार निवासमा फर्किएपछि प्रचण्डलाई आफ्ना परिवारका सदस्यहरुले तत्काल पार्टी फुटाउन नहुने सल्लाह दिएको स्रोतको दाबी छ । भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणुले पनि तत्काल पार्टी फुटाउन नहुने भन्दै अध्यक्ष दाहाललाई दबाब दिएको बुझिएको छ । पारिवारिक सल्लाहपछि दाहालले पूनः ओलीसँग फोनमै सम्पर्क गरेको र प्रधानमन्त्रीबाट नहट्ने हो भने पार्टी अध्यक्ष छोड्न आग्रह गरेका थिए । ओलीले अध्यक्ष छोड्ने हो भने आफूले आज बस्ने सचिवालयमा कुरा मिलाउला भन्ने दाहालको सन्देश थियो ।
तर, बालुवाटारमा हटाएर देखाउन चूनौति दिएका ओलीले दुवै पद छोड्दिन जे गर्नुहुन्छ गर्नुहोस भनेर दाहालसँग स्पष्ट आफ्नो अडान दोहोर्याएका थिए ।
बरु, प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको सवालमा माधव नेपाललाई पनि अध्यक्ष बनाउन सकिने विकल्प प्रस्तुत गरेका थिए । प्रचण्डले ओलीको उक्त प्रस्ताव ठाडै अस्विकार गरेका थिए । लगत्तै ओलीले महाधिवेशन नहुञ्जेलसम्म पाँच सदस्यीय अध्यक्ष मण्डल बनाउन पनि आग्रह गरेका थिए । त्यसो हुँदा ओली र दाहालसँगै बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाललाई पनि स्पेश दिने र सँगै रामबहादुर थापा बादललाई पनि समेटौं भन्ने ओलीको प्रस्ताव थियो । र, पाँच सदस्यीय अध्यक्ष मण्डलको नेतृत्व पनि आँफैं गर्ने ओलीको भनाई थियो ।
ओलीको उक्त प्रस्तावपनि प्रचण्डले नमानेपछि ओली यतिवेला संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्न लागिपरेका छन् । आज साँझ ५ बजे बस्ने सचिवालय बैठकमा संसदीय दलमा बहुमत पुर्याएर हस्ताक्षरसहित देखाउने ओलीको तयारी छ । ओलीनिकट एक सांसदले भने, आज बस्ने सचिवालय बैठकमा संसदीय दलमा प्रधानमन्त्रीज्यूको पक्षमा बहुमत देखाईयो भने उहाँलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र आफैं समाप्त हुन्छ । यो विवाद यत्तिकै ढिसमिस हुन्छ । रिपोटर्स को साथमा








































