काठमाडौँ, १८ चैत २०७६ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना सातै प्रदेशका संसदीय दलका नेता र प्रुमख सचेतकलाई कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि पार्टीको सम्पूर्ण शक्ति प्रयोग गरी सरकारलाई सहयोग गर्न निर्देशन दिएको छ ।
कांग्रेस संसदीय दलले सातै प्रदेशका नेता र प्रमुख सचेतकलाई ७ बुँदे निर्देशन जारी गर्दै कोरोना भाइरस मानवबाट मानवमा सर्ने भएकाले सरकारद्वारा घोषित लकडाउन पूर्ण रुपमा पालना गर्न निर्देशन दिएका छन् ।
प्रमुख सचेतक बालकृष्ण खाणले जारी गरेको ७ बुँदे सर्कुलरमा खाद्य सामग्री खरिद तथा वितरण गर्दा व्यक्ति व्यक्तिबीचको दूरी एक मिटर कायम गर्न, लकडाउनको अवस्थामा खाद्यपदार्थ र अन्य औषधिको अभावबाट समस्या झेलिरहेका नागरिकलाई स्थानीय तहका पार्टी समितिहरुसँग समन्वय गरी सहयोग पुर्याउन प्रेरित गर्न आग्रह गरिएको छ।
त्यस्तै, कार्यक्षेत्रमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको आत्मबल बढाउन प्रेरित गर्न, प्रदेश सरकारसँग समन्वय गरी स्थानीय तहका वडासम्म कोरोना भाइरस रोकथाम, न्यूनीकरण तथा उपचार अभियानमा अझै प्रभावकारी र गतिशील बनाउन लाग्न, उपचारका लागि केन्द्रबाट आएका स्वास्थ्य उपकरण तथा सामग्रीको उपलब्धता र उपयोग सम्बन्धी जानकारी राख्न र स्थानीय टोलमा बाहिरबाट आएका व्यक्तिहरुको जानकारी राख्ने र क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न स्थानीय जनप्रतिनिधिलाई प्रेरित गर्न निर्देशन दिइएको छ।








































