काठमाडौं,२८ फागुन २०७६ । बारम्बार फुट्ने र जुट्ने क्रमबाट गुज्रिरहेका पूर्वपञ्चहरु फेरि एकै ठाउँमा आएका छन् । बुधबार राप्रपा र राप्रपा संयुक्तबीच एकता भएको हो ।
काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबार एक समारोह आयोजना गरी दुई पार्टी एक भएको औपचारिक घोषणा गरिएको छ ।
गत शनिबार दुई पार्टीबीच एकता गर्ने गरी १० बुँदे समझदारीपत्र आदानप्रदान भएको थियो ।
राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायत नेता सहभागी कार्यक्रममा राप्रपा नै नाम रहने गरी पार्टी एकता घोषणा गरिएको छ ।
झण्डा र चुनाव चिह्नको विषयमा पछि निर्णय गरिने बताइएको छ । यस्तै पार्टीको एजेन्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ ।
राप्रपा नामबाट संगठित पूर्वपञ्चहरुको दुईवटा पार्टी २०७३ मंसिरमा एक भए पनि पछि फुटेका थितए । २०७३ मंसिरमा हलो चुनाव चिह्न भएको तत्कालीन राप्रपा र गाई चिह्न भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो ।
उक्त एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दलगायत पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा जुटेका थिए ।
एकताको आठ महिनामै पार्टी छिन्नभिन्न भएको थियो । तिनै पूर्वपञ्चहरु बुधबार फेरि एकजुट भएका हुन् ।








































