काठमाडौं, २० माघ २०७६ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जिल्ला तहका क्याम्पसहरुमा सदस्यता वितरण गर्ने भएको छ । नेविसंघको सोमबार बसेको पहिलो अनौपचारिक बैठकले १२ औं महाधिवेशन केनिद्रत गतिविधि सुचारु गर्न तत्काल जिल्ला तहका क्याम्पसहरुमा सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
त्रिविअन्तर्गतका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा चुनाव तयारी गतिविधि थाल्न परिचालन हुनेसमेत बताइएको छ ।
आइतबार नियुक्त भएका पदाधिकारीहरुले सोमबार कार्यभार सम्हालेका छन् । आइतबर अध्यक्ष राजीव ढुंगाना र दुई महामन्त्री मनोज वैद्य र महेश्वरी कुवँरले कार्यभार सम्हालेका थिए । पदाधिकारीहरुले कार्यभार सम्हालेपछि सोमबार पहिलो अनौपचारिक बैठक बसेको हो। नवनियुक्त पदाधिकारीहरुबीच नेविसंघको समितिलाई पूर्णता दिन नेतृत्वसँग आग्रह गर्ने सहमति भएको समेत नवनियुक्त महामन्त्री बलदेव तिम्लसिनाले बताएका छन् ।
नेपाली कांग्रेसले शुक्रबार राजीव ढुंगानाको सभापतित्वमा नयाँ तदर्थ कार्यसमिति गठन गरेको थियो । यो समितिले छ महिनाभित्र नेविसंघको केन्द्रीय अधिवेशन गर्ने म्यान्डेट पाएको छ ।








































