पोखरा, १९ माघ २०७६ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको तथ्याङ्कले देखाएको छ । सोही अनुसार जिल्लामा लागुऔषधको मुद्दा पनि बढ्दै गइरहेको पाइएको छ ।
पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । तनहुँ हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।
तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवाल बताउँछन् । आर्थिक वर्ष २०७३÷७४ मा २७, २०७४÷७५ मा ४० र २०७५÷७६ मा ७० लागुऔषधसहित पक्राउ परेका थिए । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको बताइएको छ । लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको एस्पी सिलवालको भनाई छ ।
लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध कारोवारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ । ‘पृथ्वीराजमार्गमा पर्ने तनहँु खण्ड हुँदै अन्य जिल्लामा लागुऔषध ओसारपसार हुने गरेको तथ्याङ्कले देखाएको छ’, प्रहरी उपरीक्षक सिलवालले भने– ‘सस्तो मूल्यमा खरीद गरेर महङ्गोमा बिक्री गर्न पाइने भएपछि युवायुवती लागुऔषधको कारोवारमा लागेका छन् ।
रात्रिकालीन बसबाट बढी मात्रामा लागुऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । जिल्लामा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँदछ ।
लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि प्रहरीले व्यास नगरपालिकाको सहकार्यमा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रसमेत स्थापना गरेको छ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिइ यसको नकारात्मक असरबारे अध्ययन गराइने प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।
केन्द्र सञ्चालनका लागि नगरपालिकाले दुई कोठा र परामर्शदाताका लागि पारिश्रमिक उपलब्ध गराएको छ । केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
गृह मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा डेढ लाखदेखि दुई लाखसम्म लागुऔषध प्रयोगकर्ता रहेका छन् ।








































