काठमाडौँ, १८ माघ २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पत्रकार नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ को आज यहाँ लोकर्पण गरेका छन् ।
लेखक त्रिपाठीले सोचाइकै भरमा तयार हुने उपन्यासले समाजको यथार्थता पस्कने भन्दै उपन्यासकारले केही पात्रको माध्यमबाट समाजलाई जागरुक बनाउने कार्यमा सहयोग पुर्याइरहेको बताइन् । “लेख्ने क्रममा शब्द नफुर्दा एउटी गर्भवतीलाई लाग्ने जस्तो व्यथा लाग्थ्यो”, उनले भनिन्, “विभिन्न व्यथा र कष्टका बाबजुद एउटा कृतिलाई जन्म दिन सफल भएकी छु ।”
पूर्वराजदूत लक्की शेर्पाले अष्ट्रेलियामा बस्ने विद्यार्थीको कथामा आधारित उपन्यासले अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपालीको वास्तविकता उजागर गरेको बताइन् । उनले अष्ट्रेलियाका मोहका कारण कैयौँ विद्यार्थीले त्यहाँ पुगेपछि दुःख पाउने गरेको उल्लेख गर्दै पिआर, भिसा, डिभोर्स, फेक म्यारिज जस्ता समस्याले नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेको बताइन् ।
साहित्यकार विप्लव प्रतीकले उपन्यासले प्रेम र जीवन दर्शनलाई बुझ्न सहयोग पुर्याउने बताउँदै लेखकले लेख्ने बेलामा इष्र्या, घमण्ड र लोभ त्यागेमा मात्र स्वतन्त्र र पठनीय सामग्री तयार हुने धारणा व्यक्त गरे ।
सो अवसरमा उनले साहित्यले पर्यटन प्रवद्र्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत टेवा पुर्याइरहेको बताए। “साहित्य बिनाको समाज कल्पनासमेत गर्न सकिँदैन”, उनले भने, “साहित्यले समाजको वास्तविक चित्रण गर्दै समाजलाई दिशानिर्देश गर्ने काम गरिरहेको हुन्छ ।”
मन्त्री भट्टराईले कला साहित्यको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सहयोग मिल्ने भन्दै कलाकार र साहित्यकारका सिर्जनाले मानिसलाई छिटो आकर्षित गर्ने बताए। “कला र साहित्यले जो कोहीलाई प्रभावित पार्छ”, उनले भने, “कलाकारहरुले साथ दिने अभियान प्राय सफल हुने गरेका छन् ।”
कार्यक्रममा सङ्गीतकार न्ह्यू वज्राचार्य र बुक हिलका प्रकाशक भूपेन्द्र खडकाले पुस्तकले पाठकको ध्यान तान्न सफल हुने विश्वास व्यक्त गरे ।









































