काठमाडौँ, १५ माघ २०७६ । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सभामुखलाई प्रधानमन्त्री र प्रधानन्यायधीशभन्दा माथिको वरियताक्रममा राख्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै डा भट्टराईले हामीले अर्काको नक्कल गरेर मर्यादाक्रममा सभामुखलाई पाँचौ स्थानमा राखी अरुलाई माथि राखेर बेठिक गरिएको बताएका हुन् ।
‘नीति निर्माण बनाउने मुख्य भूमिकामा सभामुख रहने भएकाले उनलाई राष्ट्रपति, उपराष्ट्रपतिपछि राख्नुपर्छ,’ उनले भने, ‘कार्यपालिकाले बनाएको नीति निर्माणका व्याख्या गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय देखिएको छ ।’
यस्तै, भट्टराईले एमसिसीलाई लिएर नेकपाभित्र विवाद रहेको संकेत गर्दै एमसिसीमा पार्टीभित्रको गुट देखिनु सुखद नहुने बताएका छन् । उनले भनेका छन्, ‘एमसिसीमा राष्ट्रिय कोणभन्दा पनि गुटभित्रको द्वन्द्व आउनु सुखद विषय होइन । यस्तो विषयमा गहन छलफलको नीति हुनुपर्छ ।’
सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउने तर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराएका छन् । उनले द्वन्दकालिन मुद्धाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने माग समेत गरेका छन् ।
ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भिर विषयमा भएको बताउँदै उनले कुनै एक व्यक्तिको मुद्धालाई लिएर मात्रै कसैलाई फाइदा नहुने बताए ।
भट्टराईले टिकापुर घटनाका मुख्य दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीलाई राजनीतिक व्यवहार गर्न पनि माग गरेका छन्। उनले द्वन्द्वकालका घटनालाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने बताएका हुन्।








































