काठमाडौं, ६ माघ २०७६ । नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।
कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।
कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । “पार्टीमा यस विषयमा छलफल भइसकेको छ, “व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।”
नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताउनु भयो ।
“कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने कुरामा नेतृत्वले हेक्का राखेको पाइएन,” उनले नेकपाको निर्णयप्रति संकेत गर्दै भने, “त्यसकारण पनि नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिन्छ ।” उनले कसलाई उमेदवार बनाउने भन्ने निर्णय अहिलेसम्म नभएको बताए ।








































