पोखरा, ३ माघ २०७६ । होचा ब्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि मणिपाल अस्पतालमा भर्ना भएका खगेन्द्रको शुक्रवार मुत्यु भएको हो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको हो ।
खगेन्द्रको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।
बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।
खगेन्द्र बहादुर थापा मगरको जन्म नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ भएको थियो । उनी गाउलेहरू माझ सानो बुद्ध भनेर चिनिन्छन् । उनी विश्वको सबभन्दा होचो मान्छे हुन, उनको कद ०.६७ नापिएको छ । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामको थिए, अहिले उनको वजन ५.५ किग्रा छ ।
मे २००८ मा, खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री ‘द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी’ मा देखिएका थिए ।
अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने शीर्षक श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरे ।









































