काठमाडौं, ११ मङ्सिर २०७६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेकपाको जीत सुनिश्चित भएको बताएका छन् । बुधबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका नेताले गरेको भाषणले पनिआफूहरुको जीत सुनिश्चित भएको बताएका हुन् ।
‘परिणाम निकाल्ने कुरा के हुन्छ रे भने, पार्टी र जनताको राम्रो कामको योगफल र हाम्रा विपक्षीले गर्ने नराम्रो काम, उनले भने, ‘यहाँ हाम्रा विपक्षी नेपाली कांग्रेसका नेताहरुले जसरी भाषण गर्नुभयो त्यसले पनि मैले हाम्रो विजय सुनिश्चित भएको देखेको छु।’ प्रचण्डले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पोखरा आएर झुटो बोलेको बताए । ‘नेपाली कांग्रेसका शेरबहादुर जी जसले पोखरामा आएर र झुठो बोल्नुभयो,’ उनले भने, ‘उहाँलाई म धन्यवाद भन्न चाहान्छु। उहाँले कमरेड विद्या भट्टराईको विजयलाई सुनिश्चित गरेर गइदिनुभयो ।’
कास्की २ मा हुन लागेको उपनिर्वाचनमा नेकपाले विद्या भट्टराई (अधिकारी) लाई उम्मेदवार बनाएको छ ।








































