पोखरा, ७ मङ्सिर २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् । ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ।’
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइराखेको छ । सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ । तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नयाँ नक्सा जारी गरेको त होईन ? भनेर प्श्न गरेका छन्ु । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताए ।
‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ । ओली राष्ट्रवादी पनि होइन ।’
ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ । ‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘जनताका आँखामा छारो हानेका छन् ।’
ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए । ‘हर ठाउँमा भ्रष्टाचार बढेको छ । सरकारले अनावश्यक कर बढाएको छ,’ उनले भने, ‘यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ ।’ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन् ।
‘यो महत्वको चुनाव हो । यसले सरकार बनाउने त होइन । सरकार अलोकप्रिय भइराखेको छ भनेर देश र अन्तर्राष्ट्रिय जगतमा मेसेज दिने हो,’ उनले भने, ‘सरकार अलोकप्रिय भइसक्यो भनेर उपनिर्वाचनबाट देखाउनुपर्छ । उपनिर्वाचन सरकारको पक्षमा जनमत छैन भन्ने देखाउने ऐना हो ।’ ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दु:ख दिइराखेको उनले आरोप लगाए । ‘पोखराका दाजुभाइ, दिदीबहिनीहरू होटल र उद्योगपतिलाई कर नै कर लगाइदिएको छ,’ उनले भने, ‘यति कर बढाएको छ। कल बढाएको खिलापको चुनावबाट मेसेज दिनुपर्छ ।’
सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उनले बताएका छन् । ‘उपभोक्ता समितिका नाममा लुटतन्त्र भएको छ । भ्रष्ट्राचार र कर बढाएको छ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई जिताए सरकारविरूद्ध मेसेज जान्छ। जवाफ हुन्छ।’
खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे । ‘पार्टीले पौडेलजीलाई न्याय गर्यो । अब न्याय गर्ने पालो जनताको हो,’ उनले भने, ‘पार्टीका साथीहरूले अहोरात्र खटिएर जिताउनुपर्नेछ ।’
देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रीत कार्यक्रममा सहभागी भइराखेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन् ।








































