काठमाडौं, ६ मङ्सिर २०७६ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले द्वन्द्वपीडितको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा गठन गरिएको सो आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पुराना पदाधिकारी दोहोर्याउन नमिल्ने अडानमा आफू रहेको पनि स्पष्ट पारे ।
प्रचण्डले पीडितको चाहना र सरोकारवाला निकायको पनि सुझावको आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको पनि बताए ।
अध्यक्ष प्रचण्डले द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आम माफी दिन नसकिने अडान पनि राखे । उनले अन्तराष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भीर ठहयाइएका घटनामा संलग्नहरूलाई माफी दिन नमिल्ने पनि बताए । समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आम माफी दिन नमिल्ने अध्यक्ष प्रचण्ड को भनाइ छ ।








































