गोरखा, २०७६ साल मङ्सिर ५ गते बिहिबार । सिरानचोक गाउँपालिका वडा नं – २ थालाजुङ्गको समन्वयमा, कादुरी एग्रीकल्चर एण्ड एसोशिएशन ब्रिटिस गोर्खाज् नेपालको आयोजनामा चार दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं -२ थालाजुङ्ग स्वास्थ्य चौकीको प्राङ्गणमा यहि मङ्सिर १ गतेदेखि ४ गतेसम्म संचालन गरीएको नि:शुल्क स्वास्थ्य शिबिरमा ४ सय ३० जना पुरुष र ६ सय ६३ महिला गरी जम्मा १०९३ जना बिरामीले स्वास्थ्य परिक्षण गराउनु भएको सिरानचोक गाउँपालिका वडा नं : २ का वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्त्री रोग जाँच, आँखा जाँच, दातको उपचार लगायत अन्य बिभिन्न सामान्य स्वास्थ्य जाँच गरी चिकित्सकको सल्लाह बमोजिम नि:शुल्क औषधी वितरण गरिनुको साथै उक्त शिविरमा मोतिबिन्दु भएका ३० जनाको सफलतापुर्बक शल्यक्रिया गरिएको छ ।
सिरानचोक गाउँपालिकाले प्रत्यक वडामा नि:शुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएकोमा पछिल्लो समय स्वास्थ्य सस्थामा कर्मचारी समायोजन हुन नसकेको र केहि महिना कर्मचारी अभाब भएको यस समयमा थालाजुंगमा भएको चार दिने नि:शुल्क स्वास्थ्य शिबिरबाट समग्र स्वास्थ्य क्षेत्रमा थप मदत पुगेको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।
उक्त नि:शुल्क स्वास्थ्य शिबिरमा समन्वय र सहयोग गर्नु भएका सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, गाउँपालिका स्वास्थ्य शाखा, वडाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय राजनितिक दल, शिक्षक, बिधार्थी, युबा क्लब, आमा समूह, महिला स्वास्थ्य स्वयमसेबीका, आयोजक टिमका साथै प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णमा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले धन्यबाद ज्ञापन गर्नुभयो ।









































