गोरखा, ४ मङ्सिर २०७६ । दोस्रो ताकुकोटमा न्वागी महोत्सव २०७६ हुने भएको छ । माई भगवती मन्दिर परिसर ताकुकोटमा यहि मङ्सिर ७ र ८ गते न्वागी महोत्सव हुने आयोजकले जनाएको छ ।
“कृषि, पर्यटन र संस्कृति: समृद्ध ताकुकोटको आधार” भन्ने मुल नाराका साथ बारपाक सुलिकोट गाउँपालिका ६ नं वडा कार्यालय ताकुकोट, गोरखा-ताकुकोट सेवा समाज काठमाडौं र श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्धन समितिको संयुक्त आयोजनामा दोश्रो ताकुकोट न्वागी महोत्सव- २०७६ हुने भएको हो । त्यसैगरी, बारपाक सुलिकोट गाउँपालिका ५ नं वडा कार्यालय ताकु माझ लाकुरिबोट, समृद्ध ताकु युवा समाज काठमाडौं, दीपशिखा / पुष्पाञ्जलि युवा क्लब ताकुकोट, ताकुकोट नेवार समाज गुठी साथै अन्य क्लव र संघ संस्थाको सह-आयोजक रहेका छन् ।
बिगतका बर्षहरु झैँ यस बर्षपनि मन्दिर परिसरमा महोत्सवको रुपमा जात्रालाई नामाकरण गरिएको हो । न्वागी भन्नाले नयाँ चामल खानको लागि सुरुवात गर्ने चलनको रुपमा लिइन्छ । न्वागीको अबसरमा रातभरि जाग्रम बसि ब्रत बस्ने, माधी बाल्ने र तेल ढोल्ने प्रचलन चलिआएको छ ।
उक्त महोत्वसमा रास्ट्रिय ख्याति प्राप्त कलाकार गायक जीवन शर्मा, चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ , लोकगायक सन्जय गुरुङ, पृथ्वी गुरुङ, हेमन्त आले, पवन गुरुङ, हरेराम परियार, सगर गुरुङ त्यसैगरी, गायिकाहरु सुनिला गुरुङ, बेलिमाया गोर्खाली, सुमित्रा लामा लगायतको प्रस्तुतिका साथै स्थानीय चुट्का, मारुनी नाच, नेवारी नाच, कौरा नाच लगायत अन्य नाच देखाइने छ ।
त्यसैगरी, गाउँपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता, वडा नं ५ र ६ स्तरिय नृत्य र महिला / पुरुष दौड प्रतियोगिता समेतको आयोजना गरिएको र टिम दर्ता को लागि आव्हान गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक बाबुलाल गुरुङले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनहरु, सुन्तला , बदाम लगायत खानाका बिभिन्न परिकारहरु उपलब्ध हुने महोत्सवलाई ब्यबस्थित बनाउन तयारी भइरहेको महोत्सव आयोजक मुल समितिका सदस्य जित बहादुर नेपाली जानकारी दिनुभयो ।








































