गोरखा, २ मङ्सिर २०७६ । बुढीगण्डकी वृद्धाश्रम विकास केन्द्र गोरखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । भिमसेन थापा गाउँपालिका वडा न ३ अमिलिचौर आरुघाटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बुढीगण्डकी वृद्धाश्रम विकास केन्द्रका अध्यक्ष चित्र कुमार श्रेष्ठको अध्यक्षतामा, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको प्रमुख आथित्यतामा, भिमसेन थापा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईको बिशेष आथित्यतामा, जिल्ला समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष डिल बहादुर रोक्का, भिमसेन थापा गाउँपालिका वडा नं ३ का कार्यबाहक वडा अध्यक्ष राम्जी प्रसाद दाहाल लगायत, सुरक्षाकर्मी, जनप्रतिनिधि, चन्दादाता, समाजसेवी लगायत स्थानीय बासिन्दाको आतिथ्यता रहेको थियो ।
बुढीगण्डकी वृद्धाश्रम विकास केन्द्रका अध्यक्ष चित्र कुमार श्रेष्ठ, सचिव वसन्तमान श्रेष्ठ र कोषाध्यक्ष दिल प्रसाद श्रेष्ठले आ-आफ्नो पदिय जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा अधिकांश वक्ताहरुले वृद्धाश्रमलाई अरु व्यवस्थित गर्दै लैजानुपर्ने र बुढी गण्डकी जलासययुक्त परियोजनाको डुबान क्षेत्रमा रहेको यस वृद्धाश्रमलाई पुनः स्थापनामा विशेष ध्यान पु¥याउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
बुढीगण्डकी वृद्धाश्रम विकास केन्द्रको तेस्रो अधिवेशनबाट लेखनाथ खनाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसमा, प्रथम उपाध्यक्षमा दिनेश कुमार ढकाल, द्धितीय उपाध्यक्षमा पदम प्रसाद न्यौपाने, सचिव बालकृष्ण लामिछाने, सह-सचिव नेत्र प्रसाद पुडासैनी र कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा कल्पना खड्का, जय लक्ष्मी श्रेष्ठ, दुर्गा देवी तिवारी, राजन श्रेष्ठ, पुरुसोत्तम लामिछाने, अर्जुन कुमार श्रेष्ठ, सुनिल उपरकोटी, उद्धव पाण्डे र ईश्वर श्रेष्ठ चयन हुनुभएको छ ।
वृद्धाश्रम विकास केन्द्रका उपाध्यक्ष लेखनाथ खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।








































