काठमाडौं, १ मंसिर २०७६ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
आज माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा ‘गो ब्याक इन्डिया र गो ब्याक चाइना’को नारासमेत लगाएका थिए । दुबैतर्फबाट भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेकोले उनीहरुले नेपाली भूमि छोडेर पछि हट्नुपर्ने माग गरेका थिए ।
माइतीघर वरिपरि नाराबाजीसहित मण्डला घुमिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेको थियो । प्रहरीले अवरोधपछि उनीहरु मण्डलाको भित्रीभागमा रहेर नाराबाजी गरेका थिए । सोही क्रममा झडप भएको थियो ।
“प्रदर्शन गर्दै अगाडि बढ्दा प्रहरीले लाठी चार्ज सुरु गर्यो । हाम्रा केही साथीलाई चोट लागेपछि हाम्रोतिरबाट पनि ढुंगामुढा भएको हो”, निबर्तमान महामन्त्री सरोज थापा जानकारी दिनुभयो ।








































